काजु (Cashewnut) खेती प्रबिधि :
काजु एक स्वादिष्ट र उपयोगी फल हो । यसको खाने भाग दाना (कर्नेल नट) स्याउजस्तो देखिने केसु एपलको तल्लो भागमा लाग्छ । काजु दानाको बाहिरी खोल कडा हुन्छ । काजुको दानालाई प्रशोधन गरि खानको निमित्त प्रयोगमा ल्याइन्छ । यसमा २१% प्रोटिन , ४७% चिल्लो पदार्थ पाइन्छ । यसको उत्पत्ति ब्राजिलमा भएको मानिएको छ ।
हावापानी :
यो उष्ण प्रदेशिय फल हो । समुन्द्र सतह देखी १००० मिटरको उचाइसम्ममा पनि काजु फलाउन सकिन्छ । यसको लामो अबधिसम्म बढी गर्मी वा ज्यादा ठन्डि सहन सक्तैन । गर्मीमा अधिकतम तापक्रम ३७°से भन्दा बढी र जाडोमा न्युनतम तापक्रम १५°से भन्दा कम हुने क्षेत्र काजु खेतीको लागि उपयुक्त हुदैन । वार्षिक वर्षा १५०० देखि २५०० मिमि र आद्रता ७०-८० प्रतिशत काजुको निम्ति उपयुक्त मानिन्छ ।
माटो :
काजु खेतीको लागि दुमट वा बलौटे दुमट पिएच ६-७ भएको माटो उत्तम मानिन्छ । पानी निकासको राम्रो व्यवस्था हुनुपर्छ ।
जात :
केसु एपलको रङको आधारमा (रातो,पहेलो,गुलाबी) र आकारको आधारमा (गोलो,लाम्चो) किसिम छुट्याइन्छ । भारतमा लगाइएको जातहरु बिपिपी , भेङुर्ला, भि आर आई , उल्लास सेरिजमा छ्न ।
बिरुवा उत्पादन :
बिरुवा उत्पादन धेरैजसो बिउद्वारा नै गरिन्छ । इपिकोटाइल , सफ्ट उड र भेनियर ग्राफ्टिङ तरिका बाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ । गुटी तरिका पनि कहिकहि चलनमा छ ।
बिरुवा लगाउने कार्य :
३-४ पटक खनजोत गरि तयार पारेको जमिनमा ७-८ मिटरको दुरी राखी वर्गाकार वा त्रिकोण तरिकाबाट रेखाङ्कन गर्नुपर्छ । आधा मिटर गहिरो र त्यतिकै चौडा खाडल खनी माथिल्लो सतहको माटोमा एक डोको सडेको गोबरमल र ५० ग्राम अल्डृन मिलाइ खाडल पुर्नुपर्छ । जेठ - असारमा बिरुवा सार्नुपर्छ ।
फुल र फल लाग्ने क्रम :
काजु साधरणतया ३ देखि ५ वर्षसम्ममा फुल्न र फल्न थाल्दछ । फुलहरु हागाको टुप्पोमा लाग्दछ्न । भालेपोथी भाग भएका फुलहरु २०-२२ प्रतिशत हुन्छन तर फल ४-५ प्रतिशतमा मात्र लाग्छ । फुल बिहान ७ देखि दिउसो ३ बजेसम्म फुल्छ । बास्नादार फुल फुल्ने हुदा माहुरी र अन्य किरा आकर्षित भैई परागसेचनमा मद्दत पुर्याउछ्न । फल झर्ने समस्या समाधानको लागि हर्मोन एन .ए.ए २, ४- डि (१० पि.पि.एम) छर्न सकिन्छ ।
किरा :
बोक्रा , डाठ र जरामा लाग्ने गभारो , पात खाने किरा , चुसाहा किरा , जालो बनाउने लाभ्रे आदि लाग्छन । इन्डोसल्फान , पाराथियन , मोनासिलजस्ता विषादी छरी किरा नियन्त्रण गर्न सकिन्छ ।
रोग :
फुलको मुजुरा डढ्ने रोग , गुलाबी रोग , एन्थ्राकनोज , बिरुवा कुहिने रोग यसका प्रमुख रोगहरु हुन । यी रोग रोकथाम गर्न बोड्रो मिश्रण वा अन्य तावायुक्त विषादी छर्नुपर्छ । मुजुरा डढ्ने रोग`टि मस्कुटो´ नामको किराले फुलको मुजुराबाट रस चुसेपछी लाग्ने हुनाले यसको रोकथाम गर्न इन्डोसल्फान (०.१%) छर्नुपर्छ ।
फल टिपाइ :
फल लागेको करिब २ महिनापछि परिपक्व हुन्छ । सुरुको ४-६ हप्तासम्म भुइँमा झरेको फल जम्मा गरिन्छ , त्यसपछि बोटबाट पुरै फल टिपिन्छ ।
Comments
Post a Comment